साताको पहिलो दिन आज शेयर बजार उच्च अंकले ओरालो झरेको छ । कारोबार रकम पनि बढेको छ ।
यसरी बजार तल झर्नुलाई पछिल्लो समयमा रास्वपा सभापति रवि लामिछाने पक्राउ र त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.४४ अंकले घटेको हो । १.७२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७९७.९१ अंकमा झरेको छ ।
बजार घटेसँगै सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी फाइनान्स समूह ४ प्रतिशतले घटेको छ ।
आज ३५१ कम्पनीका २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता शेयर कारोबार हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५ सय ७२.१२ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि कुथेली बुखरी हाइड्रो र ङादी ग्रुप पावरका लगानीकर्ताले क्रमशः १० र ९.८९ प्रतिशतले नाफा कमाए ।
त्यस्तै इस्टर्न हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज गुडवील फाइनान्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ४५ करोड ७ लाख १ हजार ६ सय ३०.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।








































