न्युजिल्यान्ड र भारतबीच बैङ्गलोरमा विहीबारबाट सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा भारत ४६ रनमै अलआउट भएको छ।
यो भारतकाे घरेलु मैदानमा सर्वाधिक कम स्कोर हो। टिमले यसअघि १९८७ मा वेस्टइन्डिज विरुद्ध दिल्लीमा ७५ रन बनाएको थियो। जुन सर्वाधिक कम स्कोरको रुपमा रहेको थियो।
बैङ्गलोरको के एम चिन्नास्वामी स्टेडियममा बिहीबार भारतका कप्तान रोहित शरमाले टस जितेर ब्याटिङ रोजेका थिए। तर न्युजिल्यान्डका तीव्र बलरसामु भारतीय इनिङ निरीह रह्यो। स्विङ र उछाल देखिएको पिचमा भारतीय ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।
भारतका लागि केवल २ खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाए। सर्वाधिक रनका रुपमा ऋषभ पन्तले २० रन बनाउँदा यशस्वी जैसवालले १३ रन बनाएका थिए।
कप्तान रवहित शर्मा २ रन बनाएर आउट हुँदा विराट कोहली, सर्फराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता समेत खोल्न सकेनन्। न्युजिल्यान्डका लागि म्याट हेनरीले ५ विकेट झार्दा विलियम ओरुर्केले ४ विकेट लिए। अर्को एक विकेट टिम साउदीको नाममा रह्यो।








































