टोकियो, जापान
गलकोट स्पोर्ट्स क्लब टोकियो, जापानको ११औँ वार्षिकोत्सव तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजित ‘११औँ सिल्भर रनिङ कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता २०२६’ भव्यताका साथ सम्पन्न भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापना भएको यस क्लबले आयोजना गरेको प्रतियोगिता मे ७ तारिखका दिन चिवास्थित याहोस एरेना स्टेडियममा सम्पन्न भएको हो।
प्रतियोगिताको नतिजा
पुरुष भलिबल:
कुल ८ टोली सहभागी पुरुषतर्फको प्रतिस्पर्धामा घुम्टे युवा परिवार जापान प्रथम हुन सफल भएको छ। उपाधिसँगै घुम्टेले नगद ३,३३,३३३ येन सहित सिल्भर कप, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै, पिरो स्पोर्ट्स क्लब द्वितीय हुँदै २,२२,२२२ येन, ट्रफी र मेडलमा चित्त बुझाउन सफल भयो। गलकोट समाज जापान र चिवा गाइज ले सान्त्वना स्थान प्राप्त गर्दै जनही ६१,१११ येन र प्रमाणपत्र प्राप्त गरे।
महिला भलिबल:
५ टोली सहभागी महिलातर्फको प्रतिस्पर्धामा एनवाईएससी (NYSC) जापान प्रथम हुँदै १,११,१११ येन, ट्रफी र मेडल जित्न सफल भयो। त्यस्तै, मोना जापान ले द्वितीय स्थान हासिल गर्दै ६६,६६६ येन सहित पुरस्कार प्राप्त गर्यो।
विधागत उत्कृष्ट खेलाडीहरू
आयोजकले दुवै विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कृत गरेको थियो:
पुरुषतर्फ:
- उत्कृष्ट खेलाडी (MVP): रवि केसी (घुम्टे युवा परिवार)
- बेस्ट सेटर: मिन सुनार (पिरो स्पोर्ट्स)
- बेस्ट ब्लकर: तोरण चन्द ठकुरी (घुम्टे युवा परिवार)
- उत्कृष्ट सर्भर: अशोक सुनार (पिरो स्पोर्ट्स)
- बेस्ट आउटसाइड हिटर: अनमोल खत्री (पिरो स्पोर्ट्स)
- बेस्ट अपोजिट हिटर: मिलन क्षेत्री (पिरो स्पोर्ट्स)
- बेस्ट लिबेरो: योगेश राई (पिरो स्पोर्ट्स)
- उत्कृष्ट प्रशिक्षक: दीपक कार्की (घुम्टे युवा परिवार)
महिलातर्फ:
- उत्कृष्ट खेलाडी: शान्ति महतो (NYSC जापान)
- बेस्ट आउटसाइड हिटर: सस्मि पुन (मोना जापान)
- उत्कृष्ट प्रशिक्षक: वसन्त थापा (NYSC जापान)
सम्मान तथा समापन
कार्यक्रममा क्लबले सामाजिक क्षेत्रमा योगदान पुर्याए बापत एनआरएनए जापानका निवर्तमान अध्यक्ष नवीन निउरे र खेलकुद क्षेत्रबाट भलिबल खेलाडी देवेन्द्र खत्रीलाई विशेष सम्मान गरेको थियो। साथै, जापान भ्रमणमा रहेका नरेठाँटी युवा क्लबका अध्यक्ष सुवेदार पूर्ण बहादुर कार्कीलाई पनि सम्मान गरिएको थियो।
गलकोट स्पोर्ट्स क्लबका अध्यक्ष रमेश कुमार खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गलकोट समाज जापानका कार्यवाहक अध्यक्ष लोकेश खत्री प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन महासचिव नारायण थापा र उपाध्यक्ष दिनेश थापाले गरेका थिए भने मुख्य प्रायोजन गलकोट समाज जापानले गरेको थियो।
समापनका क्रममा महासचिव नारायण थापाले प्रतियोगिता सफल पार्न आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा दर्शकहरूलाई आभार व्यक्त गर्नुभयो। क्लबका अध्यक्ष खत्रीले प्रवासमा रहेर पनि नेपाली राष्ट्रिय खेल भलिबलको संरक्षण र खेलाडीको विकासका लागि क्लब सधैँ प्रतिबद्ध रहने बताउनुभयो।








































