काठमाडौँ, ९ जेठ। परराष्ट्र मन्त्रालयले कूटनीतिक पहलपछि नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेर निकासी सहज भएको जनाएको छ।
मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा केही समयदेखि समस्या परेको उल्लेख गर्दै कूटनीतिक प्रयासपछि त्यो समाधान भएको दाबी गरे। नयाँ दिल्लीस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको निरन्तरको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
यसैबीच, नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्र (Project Implementation Mechanism) को तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा आयोजना हुने तय भएको पनि मन्त्रालयले जनाएको छ।







































