नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघका नेताहरूले निर्वाचन र पार्टीको जिम्मैवारी दिनका लागि दलित नेतालाई विश्वास नगरेको गुनासो गरेका छन्।
दलित संघ हुम्लाले आयोजना गरेको संगठन विश्वास अभियानको समिक्षा एवम् आगामी कार्यक्रम बारे सुझाव संकलन कार्यक्रममा सो कुरा दलित नेताहरूले बताए हुन्।
दलित संघका सचिव मक्क सुनारले दुई वटा स्थानीय तहको निर्वाचन २०७४ र २०७९ मा कांग्रेस पार्टीले योग्य र निर्वाचन लड्न सक्ने नेता जिल्लामा भएपनि विश्वास नगरेको गुनासो गरे।
त्यसैगरी, उनले पार्टीको गाउँपालिका, प्रदेश र जिल्ला अधिवेशनमा पनि एक जना दलित नेतालाई एक जनालाई जिल्ला कार्य समितिको सदस्य मात्र मनोनित गरेको बाहेक अन्य कुनै पनि पदाधिकारीमा ल्याउन उपयुक्त नठानेको दुखेसो सुनाए।
पार्टी र जनप्रतिनिधिका कुनैपनि पद पार्टीले दिए निर्वाचन लड्न र जिम्मेवारी सम्हाल्न दलित नेताहरु तयार रहेको उनले बताए। त्यसैगरी अर्का दलित नेता रुपसिंह सुनारले जिल्लाका दुई वटा गाउँपालिका सर्केगार्ड र चंखेलीमा जाने क्रममा कार्यकर्तामा गुटउपगुट देखिएकोले त्यसलाई समाधान गर्नेतर्फ लाग्नु पर्ने बताए।
कार्यक्रमा पार्टी सभापति मोहनविक्रम सिंहले पार्टीमा सबैले समान अवसर पाउने वातावरण तयार गर्न दलित नेताहरू पनि लाग्नुपर्ने बताए।
खाली केही नपाएको गुनासो गर्नुभन्दा पनि दलित नेताहरूले भोलि देशको जिम्मेवार स्थानमा पुगेर काम गर्ने गरी अगाडी बढ्नुपर्ने उनले बताएका हुन्। कांग्रेस उपसभापति कैलाश भण्डारीले संगठन विस्तारमा लागेर कांग्रेस दलितको पक्षमा छ भन्ने देखाउने कार्यमा दलित नेताहरू लाग्नुपर्ने बताए। अर्का, उपसभापति बसन्त रोकायाले गाउँगाउँ पुगेर कांग्रेसका सवै भातृ संगठन लाग्नका लागि पार्टीले दिएको निर्देशन अनुसार दलित संघ एक नम्बरमा देखिएको बताउँदै अब बाँकी गाउँपालिकामा पनि पुग्नु पर्ने बताए।
‘ख’ नम्बर प्रदेशका पार्टी सभापति तकदिर लामाले संगठन बनाउने कार्य सबैको भएकोले त्यस अनुसार लाग्नु पर्ने बताए। अब केही दिनमा सिमकोट र खार्पुनाथ गाउँपालिका संघका नेताहरू घरदैलो अभियानमा जाने जानकारी गरिएको थियो।