अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएका छन् । केही दिन लगातार टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे ।
‘धेरैले टिकटक र रिलमा यो कुरा देखेपछि मलाई तारन्तार फोन गरिरहनुभएको छ । म सकुशल छु । बाहिर मेरो मृत्युको हल्ला फैलिएछ । कसले र कसरी हल्ला फैलायो, बुझ्न सकेको छैन,’ अनलाइनखबरसँग उनले भने ।
आफू अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा समे व्यस्त रहेको उनले बताए । ‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको फोटो राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयु बढायो,’ उनले भने ।
अधिकारी निकट कलाकार गोपाल ढकाल ‘छन्दे’का अनुसार टिकटक ब्यान्ड हुनुअघि सेयर भएको एक भिडियो यतिबेला पुनः भाइरल भएपछि मृत्युको हल्ला फैलिएको हो । ‘त्यतिबेला काजी बा (अधिकारी)ले नै त्यस्तो भिडियो पोस्ट गर्नेलाई कारवाही नगर्न भन्नुभएपछि त्यत्तिकै छोडिएको थियो । त्यही भिडियो यतिबेला फेरि पोस्ट भएछ,’ ढकालले भने ।
- ADVERTISEMENT -
अधिकारी पछिल्लो समय टिभी सिरियल ‘मेरी बास्सै’मा ‘काजी साप’ पात्रको रूपमा परिचित छन् । यसबाहेक उनी अन्य टिभी श्रृंखलामा समेत व्यस्त छन् ।