नेपाल विद्यार्थी संघ (नेविसंघ) गोरखाले मंगलबार बिहान विरोध प्रर्दशन गरेको छ ।
गोरखा बहुप्राविधिक शिक्षालय पालुङटारमा अध्ययनरत विद्यार्थी श्यामहरि संग्रौलालाई प्राक्टिकलमा फेल गराएको विषयमा नेविसंघले आवाज उठाउँदा उल्टै विद्यार्थीहरुमाथि प्रशासनले मुद्धा लगाएको नेविसंघले आरोप लगाएको छ ।
उक्त घटनाका दोषी शिक्षक ई.आशिष रानाभाटलाई कारबाही गर्नुको सट्टा विद्यार्थीलाई झुटा मुद्धा लगाइएको भन्दै उक्त मुद्धा फिर्ता गर्न नेविसंघले आग्रह गरेको छ ।
विरोध कार्यक्रममा बोल्दै संघका जिल्ला सभापती शिवहरि तिमल्सीनाले राजनैतिक पुर्वाग्रह राखेर विद्यार्थीलाई फेल गराउने शिक्षकलाई तत्काल कारबाही गर्न माग गरेका छन् । विद्यार्थीलाई लगाइएको मुद्धा फिर्ता नलिए र विद्यार्थी फेल गराउने शिक्षकलाई कारबाही नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने उनले चेतावनी दिए ।
त्यसैगरी नेविसंघका केन्द्रीय सदस्य सुबास अधिकारीले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैको नभएको भन्दै दोषी शिक्षकलाई कारबाही गर्न प्रशासन समक्ष माग गरे । सो अवसरमा नेविसंघमा आवद्ध विद्यार्थीहरुले झण्डै आधाघण्टा सम्म नाराबाजीसहित प्रर्दशन गरेको नेविसंघ द्रव्यशाह वहुमुखी क्याम्पस इकाईका सभापति प्रमोदजंग कुवरले जानकारी दिए ।








































