प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेरै विपक्षी गठबन्धनको बैठकमा गएको बताएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले नेपालले बूढानीलकण्ठमा जानु अघि आफूसँग सल्लाह लिएको बताएको एक नेताले जानकारी दिए ।
‘माधवजी विपक्षी गठबन्धनको बैठकमा जानुभयो भनेर केही शंका गरिरहनु पर्दैन । सरकार दायाँबायाँ हुन्न । यो कुनै नौलो कुरा होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मसँग सल्लाह गरेरै उहाँ उता जानु भएकोले त्यस्तो केही अप्ठ्यारो ल्याउने गरी जानुभएको होइन ।
प्रचण्डले बिहीबार विराटनगर पुगेर भने आफूसँग सल्लाह गरेर गएकोबारे केही बोलेका थिएनन् ।
समाजवादीका अध्यक्ष नेपाल पहिले पनि गएको र अहिले पनि गएको भन्दै उनले प्रतिक्रिया दिएका थिए । फोन गरेर बुझेको भन्दै प्रचण्डले नेपालले समीकरण नछोड्ने बताएका थिए ।
बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी मोर्चाको बैठकमा नेपाल पनि सहभागी थिए ।








































