- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राष्ट्रिय सभाका पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

May 14, 2024
109
Shares
- ADVERTISEMENT -

नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति, राष्ट्रिय सभाका पूर्व सांसद एवं लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा खगेन्द्रराज रेग्मीको आज बिहान ५ः१३ बजे उहाँको आफ्नै निवास भीरकोट नगरपालिका ७ गेझावासमा निधन भयो । जिउँदो शहीदका रुपमा परिचित स्वर्गीय रेग्मी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो र लामो समयदेखि उपचार गराउँदै आउनु भएको थियो ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहनु भएका स्वर्गीय रेग्मी २०२८ मा स्याङ्जा पर्वत तरुण दलको अध्यक्ष, २०२९ मा गण्डकी अञ्चल स्तरीय तरूण दलको अध्यक्ष, २०३३ मा नेपाली कांग्रेस स्याङ्जाको सहसचिव रहनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

स्याङजा बम काण्डमा गिरफ्तार हुनु भएका स्वर्गीय रेग्मीलाई तत्कालीन व्यवस्थाले राजकाज अपराध ऐन अन्तर्गत मृत्युदण्ड र जन्म कैदसम्मको सजाय हुने गरी मुद्दा दायर गरेको थियो र कास्की कारागारमा उहाँ थुनामा रहनु भएको थियो । वि.स.. २०३३ सालमा जेलबाट छुटी पार्टी संगठनलाई सशक्त बनाउन सक्रिय रुपमा लाग्नु भएका स्वर्गीय रेग्मी २०३५ मा स्याङ्जा जिल्लाको सचिवमा निर्वाचित हुनु भएको थियो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाको पटक–पटक सभापति रहेर उहाँले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।

वि.सं. २००६ सालमा जन्मनु भएका स्वर्गीय रेग्मी २०५८ मा राष्ट्रिय सभाको सदस्य हुनुहुन्थ्यो । माओवादी सशस्त्र द्वन्दकालमा २०५८ माघ २७ गते तत्कालीन माओवादीहरुले उहाँको कञ्चट, छाती र हातमा गोली हानेका थिए ।

- ADVERTISEMENT -

Advertisement

नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक जेल जीवन बिताउनुका साथै जेलमा रहँदा चरम यातना समेत व्यहोर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ— “नेपाली कांग्रेस स्याङ्जाका नेता, पूर्व जिल्ला सभापति एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खगेन्द्रराज रेग्मीको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ । नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर स्वर्गीय रेग्मीले नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com