राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने बताएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा परियारले भनेका छन्, ‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । तर, बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ ।’
छलफलमा नेपाली कांग्रेसकी सचेतक शुशिला थिङ, नेकपा एमालेका प्रमुख सचेतक हितराज पाण्डे, माओवादी केन्द्रका मुख्य सचेतक हितराज कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी उपस्थित थिए ।
दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ । जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् ।
साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । उक्त बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने लगायतका कार्यसूची छ । साँझ बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग रास्वपाले राखेको हो ।








































