कोशी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा किनारा नलाग्दासम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने जनाएको छ ।
संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णय भएको बताए । सोमबार नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् भने सो बैठक कांग्रेसले बहिष्कार गरेको थियो ।
नेता थापाले प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसद्मा उपस्थित नहुने निर्णय भएको र सोमबारको बैठकमा त्यहीअनुसार गरिएको बताए ।
‘हामीले आजको बैठकलाई अदालतबाट मुद्दाको किराना लागेपछि बोलाउन आग्रह गरेका थियौँ । तर सुनुवाइ भएन,’ उनले भने, ‘सभामुखले हामीले गरेको आग्रहलाई मान्नुभएन । हामी यो सरकार गठनको वैधानिकतामै प्रश्न गरिरहेका छौँ भने यही सरकारले विश्वासको मत लिने बैठकमा हामी सहभागी हुने कुरा भएन ।’
नेता थापाले आफूहरु अदालतले दिने निर्णयलाई स्वीकारेर अघि बढ्ने बताए । ‘अहिले कोशी प्रदेशको निर्वाचित सरकारको विषयमा अदालतमा यो मुद्दा विचाराधीन रहेको छ । यसको सुनुवाइ पनि ९ गते हुने सर्वोच्चबाट जनकारी पाएका छौँ । अहिले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको कारणले हामीले सरकारको वैधानिकतामाथि प्रश्न उठाएका हौँ,’ उनले भने ।







































