सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छु कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन्।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफूलाई प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई आफूले धिक्कार छ भन्न चाहेको पनि बताए। उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थाल्या छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ। पोल्ने मानिसहरु पनि छन् यो समाजमा। तिनलाई पोले पोलोस्, दन्दनी आगोले पोलिरहोस्। त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ भन्न चाहन्छु।’
पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरुका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए।
मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि, जनतालाई न्याय दिलाउन र महिलाहरुको अधिकारलाई दिलाउनका लागि महत्वपूर्ण भूमिका आफूले खेलेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसअनुकूलको वातावरण बनाउन पछि नपर्ने बताए।
उनले आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्पित भएर काम गर्न लागिपरेको दाबी गरे। अध्यक्ष नेपालले आफ्नो पार्टीका नेता सहभागी भएको मन्त्रीले राम्रो काम गर्ने गरेको जिकिर पनि गरे।








































