इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनास्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार, मतपेटिकाको सुरक्षा निष्पक्षतालाई ध्यान दिँदै यी क्यामेराहरू जडान गरिएको हो ।
आइतबार मध्याह्न १२ बजेबाट मतगणना सुरु भए पनि दिउँसो १ बजेर २३ मिनेट जाँदासम्म प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छैन । सदरमुकामको सिटी हलमा मतगणना भइरहँदा प्रारम्भिक परिणाम थाहा पाउन बाहिर सर्वसाधारणको भिड लागेको छ ।
उपनिर्वाचनमा एमालेबाट सुहाङ लिम्बू, कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू र पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
२०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । १ लाख १५ हजार ८ सय ८९ मतदाता भएको यस क्षेत्रमा ६० प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ जनाले मतदान गरेका छन् ।
७९ मतदान स्थलका १ सय ४९ वटा मतदान केन्द्रबाट शनिबार राति नै मतपेटिकाहरू सदरमुकामस्थित सिटी हलमा पुर्याइएको थियो ।








































