नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले वैशाख १५ मा हुने उपनिर्वाचनले बरालिएको नेपालको राजनीतिलाई दिशानिर्देश गर्ने दाबी गरेका छन् ।
आइतबारमा इलाममा कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख १५ को उपनिर्वाचनलाई एउटा क्षेत्रको चुनावकोरुपमा मात्रै लिएर बुझ्न मिल्ने परिस्थिति नरहेको बताए ।
‘यो उपनिर्वाचन जितेर वा हारेर सरकार फेरबदल हुने अवस्था होइन । तर पछिल्लो निर्वाचनपछि देखिएको राजनीतिक प्रवृत्तिको परीक्षा भने निश्चय नै हो । यसले अहिले बरालिएको राष्ट्रिय राजनीतिलाई कतातिर लैजाने भनेर दिशानिर्देश गर्छ, गर्नुपर्छ,’ उनले भने ।
उनले उपनिर्वाचनले अब कस्तो सिद्धान्त बोक्नेलाई जनताले नेतृत्व गर्न योग्य छ भनेर बुझिरहेकाछन् भनेर सन्देश दिने बताए ।
‘यो निर्वाचनमा सिङ्गो देशको ध्यान केन्द्रित भएको छ । सबै राजनीतिक दलहरु यो निर्वाचनलाई आगामी दिनको राजनीति कसरी अघि बढ्छ भन्ने अनुमान गरेर लागि परेका छन् । मिडिया, सञ्चार माध्यमहरुले पनि यो निर्वाचनबाट आउने परिणामले देश कस्तो सिद्धान्त बोक्नेहरुको मनोबल बढ्छ भनेर प्रचार प्रसार गरिरहेका छन्,’ उनले भने, ‘बुद्धिजीवी देखि आम नागरिक सम्म यो निर्वाचनले देशको ध्यान केन्द्रित गरेको छ । र यो निर्वाचनको परिणामले यो देशलाई कुन मोडमा लाजन्छ बनेर बहस गरिहरेका छन् । त्यसैले यो उपनिर्वाचन हाम्रो देशको आगामी दिनको संकेत गर्ने एउटा महत्वपूर्ण घडी हो ।’








































