बागमती प्रदेश सरकारले मन्त्री व्यवस्थापन गर्न मन्त्रालय विभाजनको तयारी गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारलाई विस्तारका क्रममा गत चैत २० गते १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त गरेका थिए । विना विभागीय एक मन्त्री व्यवस्थापनका लागि मन्त्रालय विभाजन गर्न लागिएको हो ।
विना विभागीय मन्त्री व्यवस्थापनका लागि प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइने मुख्यमन्त्री जम्कट्टेलले बताए । प्रदेशमा १३ मन्त्रालय बनाउने सरकारको तयारी रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री जम्कट्टेलले यसका लागि दलहरू बिच सहमति गरिने पनि प्रस्ट पारे । उनले यसै साता मन्त्रालय विभाजन गरेर विना विभागीय मन्त्रीको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।
सत्ता समीकरण निर्माणको चरणमा मन्त्रालयको सङ्ख्या नबढाउने सम्झौता भए पनि वर्तमान राजनीतिक परिस्थितिका कारण मन्त्रालयको सङ्ख्या बढाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
‘हामीले विभिन्न चरणमा छलफल गरेका छौँ । विना विभागीय मन्त्री व्यवस्थापनका लागि पनि छलफल गरेका छौँ । यसै साता विना विभागीय मन्त्रीको जिम्मेवारी तोक्छौँ,’ उनले भने, ‘प्रदेशमा कायम रहेका १२ मन्त्रालयलाई बढाएर १३ बनाउने तयारी छ । दलहरू बिच भागबण्डा मिलाउन १३ मन्त्रालय बनाउनुपर्ने बाध्यता छ । त्यसै अनुसार गर्छौं ।’
कुन मन्त्रालय विभाजन गर्ने भन्ने विषयमा निर्णय नभएको मुख्यमन्त्री जम्कट्टेलले बताए । सत्ता साझेदार दलहरूबिचको छलफलपछि उपयुक्त विभाग गठन गरेर मन्त्री व्यवस्थापन गर्ने उनको भनाइ छ ।








































