काठमाडौँ।
दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। प्रहरीले काभ्रेपलाञ्चोक चौँरीदेउराली गा.पा. वडा नं. ६ कात्तिके देउराली घर भएका २९ वर्षीय उमेश रिमाललाई आइतबार पक्राउ गरेको हो।
रिमालले १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबईमा जानको लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ लाग्छ र दुबई पुगेपछि कुखुरा फार्ममा काम लगाइदिन्छु भन्दै ठगी गरेका हुन्। उनले मासिक रु. पचास हजार भन्दा बढी तलव हुन्छ भन्दै प्रलोभनमा पारेर पीडितहरुबाट पटकपटक गरी नौ लाख पचास हजार रुपैयाँ रकम लिएर सम्पर्क विहीन भएका थिए।
वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो। उक्त कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।








































