काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा छानबिन अघि बढेकोमा खुसी व्यक्त गरेका छन् । पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक सुरू हुनुपूर्व पत्रकारहरूसँग कुरा गर्दै ओलीले भनेका छन्, “अनुसन्धान अघि बढेकोमा खुसी छु ।”
उनले पूरा फिल्म देख्न अझै बाँकी रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि अहिले देखिएको टेलर मात्रै भएको र पूरा फिल्म देख्न बाँकी रहेको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीको उक्त प्रतिक्रिया स्मरण गर्दै ओलीले भनेका छन्, “जसले फिल्म देखाउँछु भनेको त्यो चाहिँ सुरू भएको छैन । त्यसको प्रतीक्षा अझै बाँकी छ।”

उनले भ्रष्टाचार नियन्त्रण गरौँ भनेरै लडेर आएको बताए । “यसमा समर्थन नै छ । दोषी छुट्नुहुन् र निर्दोषी पर्नुहुन्न । यसमा धेरै भन्नू छैन,” ओलीले भनेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने गिरोहमा संलग्न १२ जना पक्राउ परिसकेका छन् । जसमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्णा खान, नेपाल सरकारका उपसचिव टेकनारायण पाण्डेलगायत पनि पक्राउ परेका छन् ।








































