नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन् ।
तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको दाबी समेत गरे ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै त्यसलाई खलबलाउने प्रयास भइरहेको दाबी गरे ।
‘नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबलाउने कोसिस भइरहेको छ,’ उनले भने, ‘लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ ।’
उनले सत्ता खराब व्यक्तिको हातमा पुगे देश बर्बादीतर्फ जाने उल्लेख गर्दै सचेत हुन मतदातालाई आग्रह गरे । नेता पौडेलले जिल्लाको सबैभन्दा उचाइमा अवस्थित छिम्केश्वरी धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ भएकाले यसको बृहत्तर विकास गरी पर्यटनको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गरे ।








































