बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालमै उत्पादित सामग्रीहरु सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् ।
उनले विगतमा नेपाली उत्पादनका वस्तुहरुमा १० देखि १५ प्रतिशत बढी शुल्क तिरेर प्रयोग गर्ने नीतिले काम नगरेको भन्दै सरकारी कार्यालयहरूमा अनिवार्य रुपमा नेपालमा उत्पादित सामानको प्रयोग गर्नुपर्ने व्यवस्था गर्नु आवश्यक रहेको बताए ।
थापाले भने, ‘सरकारले आर्थिक ऐनमा नेपाली उत्पादन १० देखि १५ प्रतिशत शुल्क तिरेर किन्न सकिने कानून बनायौं । अब अहिले जुन वस्तु नेपालमा सहज रुपमा उपलब्ध छ । त्यसलाई सरकारी अड्डाहरुले आफूले किन्ने वस्तुको कम्तिमा पनि ७० देखि ८० प्रतिशत नेपाली वस्तु किन्नुपर्छ । नेपाली उत्पादन १० देखि १५ प्रतिशत शुल्क तिर्ने ऐनले काम गरेन । सरकारी कार्यालयहरूमा एक वर्षमा प्रयोग हुने सम्पूर्ण सामानको ७० देखि ८० प्रतिशत नेपाली वस्तु किन्न शुरु गर्यौं । चाहे प्रहरी वा नेपाली आर्मीले प्रयोग गर्ने जुत्ता, सरकारी कार्यालयमा राख्ने फर्निचर प्रयोग अनिवार्य हुनुपर्छ । कम्तिमा नेपालमा उपलब्ध वस्तुहरु प्रयोग गरेर नयाँ कार्यको शुरुवात हुन्छ ।
भाटभटेनी जस्ता डिपार्टमेन्ट स्टोरहरूमा सरकारले अनुदान वा करमा छुट दिएर स्टोरको २० प्रतिशत स्टोर नेपाली उत्पादनका सामानलाई स्थान छुटाउनुपर्छ ।’
उनले उद्योग मन्त्रालयले उत्पादन उद्योग क्षेत्रको नेतृत्व गर्न नसकेको बताए । थापाले अर्थ मन्त्रालयले उद्योग स्थापना गर्न छुट दिएका विषयमा उद्योग मन्त्रालयले सहकार्य गर्नुपर्ने बताए ।








































