काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई सिद्ध्याउन गठबन्धनको विरोध भइरहेको बताएका छन् । शुक्रबार चितवनमा जनताको साथमा कांग्रेस’ अभियानको प्रथम चरणको समापन एवम् बिपी कोइरालाको १०९औँ जन्म जयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले सो कुरा गरेका हुन् ।
कांग्रेसलाई बचाउन नै गठबन्धन आवश्यक पर्ने उनको भनाई छ । उनले अब पार्टीलाई बलियो बनाउन पनि गठबन्धन नै चाहिने बताए । पाँच दलीय गठबन्धनकै कारण कांग्रेस सरकारमा जान सकेको समेत उनले बताए ।
आउँदो निर्वाचनपछि कम्युनिस्ट पार्टीसँगको गठबन्धनकै कारण कांग्रेस देशकै ठुलो पार्टी बन्ने पनि उनले बताए । यो कुरा गर्दै उनले प्रश्न गरे – ‘अनि गठबन्धनबाट कसलाई फाइदा भयो ?’
उनले यसअघि भने – ‘कांग्रेस पार्टीलाई बचाउन पनि गठबन्धन आवश्यक छ, तर यहाँ पार्टीलाई सिद्ध्याउन गठबन्धनको विरोध भइरहेको छ ।’








































