नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले गणतन्त्र, हिन्दु निरपेक्षतालाई जोगाउन पाँच दल मिल्नुको विकल्प नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेबाट ती सबै उपलब्धि रक्षा हुन नसक्ने र अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम हुनुपर्ने बताए ।
एमाले अध्यक्ष ओली राजावादीसँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका सिंहको आरोप छ । त्यसका लागि ओलीले भारतसँगसमेत गहिरो साँठगाँठ गरेको उनले बताए । ‘सामन्त गोयलसँग गोप्य भेटघाट गरेर ओलीले हिन्दुको मुद्दामा सहमति गरेका थिए,’ सिंहले भने, ‘त्यसको उदाहरण पशुपतिमा ओलीले दिएको जलहरी र चितवनमा राममन्दिर बनाउनु हुन् ।’
नेकपाको द्वन्द्व मिलाउन नसकेर संसद् विघटन गर्नु ओलीको अर्को प्रतिगमन भएको सिंहको आरोप छ । अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छोडेर ओलीले कुर्सीमा रहिरहनका लागि दुई/दुईपटक संसद् विघटन गरेको उनले बताए ।








































