नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका तल्ला तहले सिफारिस गरेका नाम मध्येबाटै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौट गरिने बताएका छन्।
कसले टिकट पाउँछ भनेर नहेर्न र जनताका घरदैलोमा जान कोइरालाले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
आज धनुषा क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनका दलहरूसँग मिलेर चुनावमा जाने बताए।
चुनावी गठबन्धन गर्न नहुने आवाज भए पनि पार्टी केन्द्रीय समितिले गठबन्धन गरी जाने निर्णय गरेकोले आफूहरू ‘बाध्य भएर गठबन्धनमा जानुपरेको’ उनको भनाइ थियो।
सिट बाँडफाँटबारे गठबन्धनले टुंगो लगाउन बाँकी नै छ। सत्ता गठबन्धनले कार्यदल नै बनाएर कहाँ कुन दलले उम्मेदवारी दिने भन्नेबारे गृहकार्य गर्दैछ।
‘निर्वाचन आइसक्यो, कसले टिकट पाउँछ नहेर्नुस्, घरदैलोमा जुट्नुस्,’ कोइरालाले भने।
पार्टीले क्षेत्रमार्फत् उम्मेदवार सिफारिस गर्न भनेकोले नेता तथा कार्यकर्ताहरूले सिफारिस गरेकै उम्मेदवारलाई उम्मेदवार बनाउने कोइरालाले बताए।
उनले मधेशमा कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए। प्रदेश र केन्द्र सरकार बनाउन मधेशमा धेरै सिट कांग्रेसले जित्नुपर्ने उनको भनाइ छ।
‘मधेशले गर्दा कांग्रेस सरकारमा पुगेको हो। जुन बेला मधेशमा पार्टी कमजोर भयो त्यो बेला सरकारमा पुगेको छैन,’ उनले भने, ‘एक वर्षयता हामी सरकारमा छौं तर यो विशिष्ट परिस्थितिमा बनेको हो।’
उनले गठबन्धन गरेर जाँदा पनि अधिकांश क्षेत्र कांग्रेसले लिने बताएका थिए। कांग्रेसले जस्तै धेरै सिट लिन माओवादी, जसपा लगायतका दलले खोजिरहेको उनको भनाइ थियो।








































