काठमाडौं, सोमबार, ९ जेठ २०७९ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताउनु भएको छ ।
आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउनु परेको उहाँको भनाइ थियो ।
‘हाम्रो पार्टीमा अहिले पनि अन्तरघातको समस्या समाप्त भएको छैन । यदि हाम्रो पार्टीमा अन्तरघात नभइदिएको भए यति मात्र होइन ४०० को नजिक जित संख्या पुयाउँथ्यौ भन्ने हाम्रो अनुमान छ,’ उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा उहाँ बोलिरहँदा देशका ७५३ वटा पालिकामध्ये ३२१ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका थिए । ‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समिक्षा गर्ला । यद्यपी नतिजा सकारात्मक छ, सन्तुष्टीजनक छ,’ प्रवक्ता महतलेभन्नुभयो । निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरुबीच विश्वासको आधार मजबुत बनाएको दाबी गर्नुभयो । गबन्धन नगरी एक्लै लडेका स्थानमा पनि कांग्रेसले व्यापक सफलता प्राप्त गरेको बताउनु भयो ।
‘नगरपालिकाहरुमा झण्डै ५० प्रतिशत हाराहारीमा कांग्रेसले जित हासिल गरेको छ । मतदाता, जनसंख्यालाई आधार मान्ने हो भने आधा ठाउँमा जित हासील गरेका छौं भन्न सक्छौं,’ उहाँले भन्नुभयो ।








































