नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ ।

कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ ।

घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ ।

सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर मुख्य नारा दिएर बनाएको घोषणापत्रमा सम्मुन्नत नेपालको जग बसाल्ने वाचा गरिएको छ । हरेक नागरिकलाई कुनै न कुनै उद्यममा जोड्ने, उत्पादन बढाउने, शिक्षा, स्वास्थ्य र पोषणको गुणस्तरमा सुधार ल्याउने, युवा ऊर्जाको बलमा नयाँ प्रविधिमार्फत विकास निर्माणलाई दिगो र तीव्र बनाउने विषय कांग्रेसको घोषणापत्रमा समावेश छन् । यस्तै पारदर्शिता र जवाफदेही स्थानीय शासन, सहज र प्रभावकारी सेवा, अनलाइन सेवालाई बढावा, फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र दीर्घरोगीलाई घरघरमै सेवा पुर्‍याउने र सार्वजनिक बिदाको दिन नागरिक एकीकृत सेवा मेला गर्ने कांग्रेसले जनाएको छ ।

यस्तै राजस्व स्रोतको रचनात्मक प्रयोग, करको दायरा बढाउने तर दर घटाउने, उद्यम व्यवसायमैत्री कर प्रणाली निर्धारण गर्ने, घरेलु हिंसा, छुवाछुत, दाइजो, धूम्रपान र लागुऔषधलगायतको नियन्त्रण र नियमन गर्ने उल्लेख छ । यस्तै हरेक पालिकामा सुविधा सम्पन्न उत्कृष्टताको केन्द्रको रूपमा एउटा अगुवा विद्यालय बनाउने, विद्यालय छाड्ने दर घटाउने, हरेक पालिकामा व्यावसायिक सीप विद्यालय, निःशुल्क स्यानेटरी प्याड, अभिभावकसँग सहकार्यलगायतका विषय कांग्रेसको घोषणापत्रमा उल्लेख छन् ।

यस्तै १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउनै पर्ने, वडामा आधारभूत स्वास्थ्य केन्द्र, गाउँ नगरमा विशेषज्ञ सेवासहितको प्राथमिक अस्पताल, तथा उपमहानगर र महानगरमा विशेषज्ञ सेवासहितको अस्पताल बनाउने कांग्रेसको प्रतिबद्धता छ ।

यस्तै सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी सहायता भत्ता र गर्भवती पोषण प्याकेज दिइने उल्लेख छ । यस्तै किसानलाई दुईदेखि चार प्रतिशत ब्याजमा ऋण, उन्नत बिउ र पशुपक्षीमा ५० प्रतिशत अनुदान, बजारीकरणका लागि कृषि एम्बुलेन्सलगायतका विषय पनि कांग्रेसले घोषणापत्रमा समावेश गरेको छ । कांग्रेसले महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र तयारी समिति बनाएको थियो ।

https://drive.google.com/file/d/1Xxpl_nt8myixJq_TDq4SwKBaJTUBq0cC/preview

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्