जनकपुर, शुक्रबार, ९ वैशाख २०७९ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरका सभापति मनोज साहले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । आज शुक्रबार पत्रकार सम्मेलन गर्दै उहाँले पार्टी परित्यागको घोषणा गर्नु भएको हो ।
गत २०७४ को चुनावमा जनकपुरको मेयरमा पराजित साह यसपालि मेयरका आकांक्षी रहनु भएको थियो । सत्तारूढ गठबन्धनले जनकपुरको मेयर जनता समाजवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गर्नु भएको हो ।
मधेस कांग्रेसको उर्वर भूमि रहेको र त्यसको राजधानी जनकपुरमा कांग्रेस उम्मेदवार नबनाउने कुरा आत्मघाती रहेको साहले बताउनु भयो ।
उहाँले उपमहानगरका २५ वडामै जाँदा कांग्रेसका मतदाताले जसपालाई मत नदिने बताएको दाबी गर्नु भएको हो । ‘सबै साथीहरूको सल्लाह बमोजिम कांग्रेस र रूख छाप जोगाउन हामी उम्मेदवारी दिँदैछौं,’ साहले भन्नुभयो ।
उहाँले स्वतन्त्र उम्मेदवार बने रूख चिन्ह नहुने भए पनि सबै कांग्रेसी मतदाताले आफूलाई मत दिने बताउनु भयो । गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले गठबन्धनको विरूद्धमा लाग्नेलाई कारबाही गर्ने अभिव्यक्ति दिएको भन्दै उहाँले आफू कांग्रेसको सदस्य नै नरहे कसैले कारबाही गर्न नसक्ने बताउनु भयो ।