काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक सरेको छ । आज अपरान्ह साढे ११ बजेलाई बोलाइएको गठबन्धनको बैठक थप गृहकार्यका लागि भन्दै दिउँसो दुई बजेलाई सारिएको हो ।
स्थानीय तहको निर्वाचनको २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले तालमेलको सहमति गरेपनि सिट बाँडफाँट गर्न सकेको छैन । आजको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने बताइएको छ ।
६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट भागवण्डाका लागि आइतबार यता हरेक दिन बालुवाटारमा बैठक बसे पनि अनिर्णित छ । विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारको बैठक अनिर्णित बनेको थियो ।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित पोखरामा दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पनि पोखरामा दाबी गरिरहेको छ । पोखरामा तत्कालीन एमालेले जितेको कारण पनि समाजवादीले आफ्नो दाबी राखेको छ । तर, त्यसमा कांग्रेस सहमत हुन सकेको छैन । यसैबीच प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले यसै सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन् ।
माओवादी केन्द्रले दाबी गरेकाे भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउनेमा भने करिबकरिब सहमति जुटिसकेकाे छ ।