काठमाडौं, सोमबार, ५ वैशाख २०७८ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने बताउनु भएको छ । पार्टी मुख्यालयमा आज सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताउनु भएको हो ।

‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त माओवादीले पाउला,’ उहाँले भन्नुभयो, ‘यदि सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ’। ६ महानगर र ११ उपहानगरमा भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने पनि अध्यक्ष प्रचण्डले जानकारी दिनु भयो । सोमबार बिहान बसेको गठबन्धनकाे बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ ।

साथै, अध्यक्ष प्रचण्डले आफू बलियो भए आफैं प्रधानमन्त्री हुनसक्ने संकेत समेत गर्नुभयो । पत्रकार सम्मेलनमा तपाईं बलियो नभएकाले बालुवाटार धाउनु परेको हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो, आफू बलियो नभएकाले मात्रै अहिले बालुवाटार धाइरहेको हो भन्ने नबुझ्न अनुरोध गर्दै उहाँले बालुवाटारमा नै भेटघाट गर्ने प्रचलन बढी भएकाे बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्