काठमाडौँ, आइतबार, ४ बैशाख २०७९ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयले असन्तुष्टि बढ्दै गएको छ । कांग्रेसभित्र तालमेलको विषयले केन्द्रदेखि जिल्ला तह हुँदै स्थानीय तहसम्म असन्तुष्टि बढ्न थालेपछि सत्तारूढ दलका बीचमा हुने भनिएको चुनावी तालमेलमा पनि गडबडी देखिन थालेको छ ।
पार्टी केन्द्रले सत्तारूढ पाँच दलबीच गरेको गठबन्धनको निर्णय जिल्ला तथा स्थानीय तहले नमान्ने भन्दै धमाधम निर्णय गर्न थालेपछि सत्तारूढ दलबीचमा हुने भनिएको तालमेल अन्योलमा पर्दै गएको हो । तालमेलबारे अहिले सबैभन्दा बढी असन्तुष्टि कांग्रेसको तल्लो तहसम्म पुगेको छ ।
कांग्रेसको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत तालमेलको निर्णय केन्द्रबाट जबरर्जस्ती थोपर्न नहुने भन्दै पार्टी पदाधिकारीले नै असन्तुष्टि पोखेका हुन् ।
बैठकमा धारणा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा कांग्रेसले माओवादीका उम्मेदवारलाई सघाएकाले अहिले माओवादीले कांग्रेसलाई सघाउनुपर्ने धारणा राखे । यो समाचार आजको राजधानी दैनिकमा छ ।