काठमाडौँ, मंगलबार, २९ चैत्र २०७८ । सत्तारुढ नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र स्थानीय तहका उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक विशेष सर्कुलर जारी गर्दै सर्वसम्मत भए एक जना र नभए तीन जनासम्मको नाम वैशाख ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएका हुन् ।
महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टीका प्रदेश समितिहरुले पेश गर्ने र केन्द्रीय कार्यालयले अन्तिम निर्णय गर्ने छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । उक्त निर्णयलाई पनि केन्द्रीय कार्यालयले नै अनुमोदन गर्नेछ ।
यस्तै, वडा अध्यक्ष र सदस्यहरुको हकमा भने सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्ने छ ।
जारी सर्कुलर अनुसार माओवादी केन्द्रले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ ।
साथै, चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड दिन पनि माओवादीले निर्देशन दिएको छ । तालमेल नगरी एक्लै चुनाव लड्नु परेमा भने केन्द्रको स्वीकृति अनिवार्य चाहिने उल्लेख छ ।








































