चितवन, आइतबार, २७ चैत्र २०७८ । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिनुभयो ।

महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्‌वार बनाउने घोषणा गरिएको ज्ञवालीले बताउनु भयो । मेयरको उम्मेद्‌वारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्नुभयो ।

यसअघि महानगरको मेयरको उमेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो । २०७४ को चुनावमा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उमेदवारमा प्रस्ताव गरेका हुन् । उपमेयरको उमेदवारको घोषणा गरिएको छैन । उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्