- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

March 29, 2022
608
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, १५ चैत्र २०७८ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आशन्न स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताअनुसार गठबन्धनमा रहेका राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा तालमेलको निर्णय गरेको नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

‘स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनसँग तालमेल गरेर जाने निर्णय पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत गरेको छ । तालमेलको निर्णयपछि अब त्यसका विधि र प्रक्रियाहरु निर्माणका लागि आवश्यक छलफल अघि बढाउँछौं,’ बैठकपछि पौडेलले भन्नुभयो ।

मंगलबार केन्द्रीय समिति बैठक बस्नुअघि ​उपसभापति पूर्णबहादुर खड्काको कार्यकक्षमा बसेको पदाधिकारी बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेलको निर्णय गर्ने गरी ड्राफ्ट तयार पारेको थियो । ​स्थानीय तहको निर्वाचनमा सम्बन्धित पालिकाहरुको आवश्यकताअनुसार तालमेल गर्ने गरी निर्णय गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो ।​

पार्टीका पालिका कमिटीहरुले त्यहाँको राजनीतिक समीकरण र अन्य पार्टीको प्रभाव हेरेर त्यही अनुसार चुनावी तालमेलको निर्णय लिन सक्ने अधिकार कांग्रेसले दिएको छ ।

संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको कांग्रेसको ठहर छ ।

संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले निष्कर्ष निकालेको छ ।

केन्द्रीय समिति बैठकमा संस्थापन इतर समूहका नेताहरु चुनावी तालमेलको विपक्षमा थिए । नेताहरु शेखर कोइराला, गगन थापा, धनराज गुरुङसहितले तालमेलको विपक्षमा आफ्ना कुरा राखेका थिए ।

सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षीय नेताहरुले भने एमालेलाई साइजमा राख्न पनि तालमेल जरुरी रहेको बताएका थिए । सभापति देउवाले तालमेल नगर्ने हो भने सबै नेताहरु हार्ने बताएका थिए । उनले एमाले अझै बलियो रहेको भन्दै तालमेलको विकल्प नरहेको कुरा बैठकमा राखेका थिए ।

अनुशासन समित र संसदीय समिति भने गठन नभएको र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्केपछि गठन हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, चित्रलेखा यादव पछि नहट्ने देखिएपछि संसदीय समिति बन्न नसकेको हो । एक केन्द्रीय सदस्यका अनुसार एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की नअट्ने भएपछि समिति गठनको निर्णय हुने सकेन ।

बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -