विराटनगर, १५ चैत्र २०७८ । प्रदेश नम्बर–१ का उद्योगी–व्यवसायीले दैनिक रूपमा हुने गरेको १४ घण्टासम्मको लोडसेडिङ उद्योग क्षेत्रले धान्न नसक्ने बताएका छन् । लोडसेडिङका कारण पूर्वका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले आज विराटनगरमा पत्रकार सम्मेलन गरी लोडेसेडिङको समस्या समाधान गर्न माग गरेका हुन् । संघका अध्यक्ष नवीन रिजालले भने, “१० दिनअघि मात्र बिजुली फालाफाल छ भनेर मन्त्रीज्यूहरूले भन्नुहुन्थ्यो, तर आँखामा छारो हाल्ने काम भएको छ । अहिले सरकारको प्रतिबद्धता नै नांगिएको अवस्था छ । उद्योगी–व्यवसायी र जनतालाई कुन अवस्थामा सरकारले राखेको छ भन्ने हामीले बुझेका छौँ । एकाएक कसरी उद्योग क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था भयो ?”

रिजालले राजनीतिक उथलपुथललगायत कारणबाट देश नराम्रो अवस्थामा पुगेपछि बल्ला तंग्रिन थालेकामा कोभिड–१९ ले तीन वर्ष ठूलो त्रासदी फैलाएको उल्लेख गरे ।

भारतबाट बिजुली आयात गर्ने नाममा उद्योग क्षेत्रको अवस्था बिग्रिएको र औद्योगिक तथा व्यावसायिक क्षेत्र बैंकले बढाएको ब्याजदरबाट पनि थप प्रताडित भएको उनले बताए । “व्यवसायीलाई दबाउने काम भएको छ । बैंक तथा ऊर्जासम्बन्धी संस्थाले व्यवसायीलाई मात्र अचानोमा राख्ने काम भएको छ,” उनले भने ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले औद्योगिक क्षेत्रमा दैनिक १४ घण्टासम्म लोडसेडिङ हुँदा उद्योग सञ्चालन गर्न कठिनाइ भएको बताए । उनले भने, “बेलुकाको ११ः५९ मिनेट जाँदासम्म बिजुली निर्यात गर्न सकिने अवस्था भएकोमा १२ बजेदेखि एक्कासि युटर्न भई विद्युत् संकटको अवस्था सिर्जना भई विद्युत् आपूर्ति बन्द गरिनु गैरजिम्मेवारी कार्य हो ।”

उनले उद्योग क्षेत्रमा दिनभरि बिजुली नभएपछि सोधीखोजी गर्दा नेपाल विद्युत् प्राधिकरणले भारतबाट महँगोमा बिजुली लिनु परेकोले कटौती गर्नुपरेको भन्ने अप्रत्यासित जवाफ आएको सुनाए ।

सरकार, प्राधिकरण र सम्बन्धित निकायले विद्युत् आपूर्ति बन्द हुने अवस्थाको निराकरण गर्नुपर्ने परिसंघका अध्यक्ष भीम घिमिरेले बताए । उनले भने, “सरकार र राजनीतिक दलका नेतृत्व जवाफदेही बन्नुपर्दछ ।”

उद्योग क्षेत्रमा बिजुली नहुँदा उत्पादन बन्द भएको र धेरैको रोजगारी गुम्ने अवस्था आएको पनि उनले बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्