काठमाडौँ, मंगलबार, १५ चैत्र २०७८ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई जीवन्त राख्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनु भएको छ ।
श्रीलंकाको कोलम्बोमा मंगलबार बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले बिमस्टेकमा केही ठोस कार्य गर्ने बेला आएको समेत जनाउनु भयो । ‘बिमस्टेकलाई जीवन्त राख्न नयाँ संकल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यहरुको आवश्यक छ,’ परराष्ट्रमन्त्री डा खड्काले सम्बोधनका क्रममा भन्नुभयो ।
उहाँले सामान्य दृष्टिकोणबाट टाढा रहनु पर्ने जनाउँदै वर्तमान चुनौतिहरु अनुरुप नवीन मार्गहरु निर्माण गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।
परराष्ट्रमन्त्री डा खड्का बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार श्रीलंकाको राजधानी कोलम्बो पुग्नु भएको हो । कोलम्बोमा मंगलबार विहान परराष्ट्रमन्त्री डा खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्तासमेत भएको थियो ।