पोखरा, ११ चैत्र २०७८ । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थापक अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गको जीवनीमा आधारित पुस्तक एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
भगवान बुद्धको महान वाणी कंग्यूर त्रिपिटक ग्रनथ पाठ तथा अग्नि होम झिन्सेग पुजाको समापनको अवसरमा उक्त पुस्तक विमोच गरिएको हो ।
करिब २७ वर्ष भारतीय सेनामा लाहुरे जीवन बिताएका गुरुङ्गले पेन्सनर भए पश्चात राजनीति, समाजसेवा, शैक्षिक क्षेत्र, सहकारी र धार्मिक क्षेत्रको विकास एवं प्रवद्र्धनको लागि उल्लेखनीय योगदान गरेको छ ।
गुरुङ्गको बाल्यकाल देखि करिब ८३ वर्षको उमेरमा गरेका असल कर्महरुलाई पुस्तकको रुपमा पाठकहरुमा सार्वजनिक गरिएको पुस्तकको लेखक तथा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले जानकारी गराउनुभयो ।
११२ पृष्ठ रहेको तुलसीप्रसाद गुरुङ्गको जीवनी पुस्तकको आज एक समारोहका बीच बोद्ध अर्घौ सदन रामघाटको परिसरमा बौद्ध आचार्य खेम्पो शीर लामाका साथै मेजर तुलसी र श्रीमती शान्ति गुरुङ्गले संयुक्त रुपमा सार्वजनिकरण गर्नुभएको हो ।
गुरुङ्गले आफ्नो जीवन कालमा २८ वर्ष लाहुरे पेशा, १९ वर्ष पोखरा रोयल सहकारी संस्थाको अध्यक्ष, ५ वर्ष मिजुरेडाँडा गा.वि.स.अध्यक्ष, ८ वर्ष अमरसिंह मा.वि.को विधालय व्यवस्थापन समितिको अध्यक्ष, करिब ८ वर्ष नेपाल भू.पू.सैनिक संघको केन्द्रिय उपाध्यक्ष, १३ वर्ष अन्नपूर्ण टोल समाज पोखराको अध्यक्ष, करिब ११ वर्ष पाखुरीकोट गुरुङ्ग समाजको अध्यक्ष, १८ वर्षदेखि लम चुँ प्रतिस्ठानको क्षेत्रीय अध्यक्ष र पछिल्लो एक वर्षदेखि रोयल फाउण्डेसनको अध्यक्षको रुपमा क्रियाशिल हुनुहुन्छ ।
अत्यन्त शालिन, मृदुभाषी, मिलनसार, इमान्दार, कहिल्यै नथाक्ने स्वभावका र नेतृत्व क्षमता भएका गुरुङ्गको जीवनी पुस्तकबाट राजनीतिज्ञ, समाजसेवी, शिक्षासेवी र सहकारी क्षेत्रका अभियन्ता र विधार्थीहरुले विविध खाले मार्गदर्शन लिन सक्ने खेम्पो गुरु शीर लामाले बताउनुभयो ।
पुस्तकमा वहाँले बाल्यकालदेखि हालसम्म भोगेका कठिनाई तथा प्राप्त गरेका सफलताहरुलाई कथा वस्तुको आधारमा प्रस्तुत गरिएको लेखक भीम गुरुङ्गले बताउनुभयो ।









































