चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आएका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताएका हुन् । चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केहि नहुने उनकाे भनाई थियाे ।
‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन । कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन् ।’
अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन उनी आज चितवन आएका हुन् । उनले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन सिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन् । उनले भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनसमेत गर्दैछन् ।
अध्यक्ष प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्कने छन् ।








































