रूपन्देही — माओवादी केन्द्रले बिहीबार लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई प्रदेशस्तरीय निर्वाचन केन्द्रित प्रशिक्षण दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुनसहित बुटवलमा आएका माओवादी केन्द्रीय नेताहरुले कुनै पार्टीसँग तालमेलबिनै ‘एक्लो तागत’ का साथ स्थानीय तहको चुनावी तयारीमा लाग्न स्थानीय नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
माओवादी अध्यक्ष दाहालले बुधबार काठमाडौंका गैरभौगोलिक ३ प्रदेशमा प्रशिक्षण सकेर बिहीबार बुटवलमा आएको बताए । गण्डकीमा शनिबार र मधेस प्रदेशमा चैत ७ मा प्रशिक्षण गरेर माओवादी पूरै शक्ति र तागतका साथ देशैभरि निर्वाचनमा होमिने उनले घोषणा गरे । लुम्बिनीको प्रशिक्षणमा प्रदेशभरिबाट १३० नेता–कार्यकर्ता अन्य पार्टी छोडेर माओवादी प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेलाई दाहाल, श्रेष्ठ, महरा र पुनले संयुक्त रूपमा स्वागत गरेका थिए ।
प्रशिक्षणपछि माओवादीले लुम्बिनीलाई ‘आधार इलाका’ भएकाले अहिलेसम्मका सम्पूर्ण अन्तर्विरोध बिर्सेर निर्वाचनमा लाग्न पनि निर्देशन दिएको छ । माओवादी प्रदेश कमिटी सदस्य युवराज केसीका अनुसार निर्वाचन केन्द्रित २ महिने योजना तयार भएको छ । वैशाख २९ सम्म नै नेता–कार्यकर्ता खट्ने गरी केन्द्रीय सदस्यको नेतृत्वमा १५ दिने जिल्लास्तरमा प्रशिक्षण कार्यक्रम, त्यसपछि निर्वाचन केन्द्रित आन्तरिक तयारी, छलफल र वार्ताका कार्यक्रम हुनेछन् । वैशाख १५ देखि घरदैलो अभियान सुरु हुने गरी योजना बनेको उनले बताए ।
यसअघि अध्यक्ष दाहालले बिहीबार बिहान बुटवलमै भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यकर्तालाई एक्लै चुनाव लड्ने गरी अघि बढ्न निर्देशन दिएका थिए । कांग्रेससँग तत्काल गठबन्धन टुट्ने सम्भावना नभए पनि कांग्रेसले लखेट्नै खोजेको अवस्थामा एमालेसँग तालमेल गर्न सकिने उनको दाबी थियो । ‘एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ उनले भने, ‘तर कांग्रेसमा पनि केही अतिवादी नेताहरू छन्, उनीहरूकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन ।’ उनले देशभरिका कार्यकर्तालाई आफ्नै शक्ति र आफ्नै एजेन्डामा निर्वाचन लड्न र जित्ने गरी तयार हुन निर्देशन दिए । गठबन्धनका दलबीच तालमेल भइहाले देशैभरि नहुने र आवश्यकताका आधारमा मात्र हुने भएकाले संगठनलाई बलियो बनाउने, आर्थिक र राजनीतिक एजेन्डा लिएर जनतामा जाने र आफ्नै तागतमा निर्वाचनमा होमिन पनि उनले कार्यकर्तालाई निर्देशन दिएका थिए ।
- ADVERTISEMENT -