नेपालमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा दस वर्षसम्म सञ्चालन भएको सशस्त्र विद्रोहका एक शीर्ष अगुवा डा. बाबुराम भट्टराईले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको म्युजिक भिडिओ ‘पिर’ मा चित्रण गरिएको कथा सत्य भएको दाबी गरेका छन्।
अर्थात् जनयुद्धका बेला बन्दुक बोक्ने गरिब महिलाहरू अहिले पेट पाल्नकै लागि देह बेच्न बाध्य भइरहेको उनको जिकिर छ।
आफूले गरेको अनुसन्धानबाटै यो कुरा पुष्टि भएको दाबी डा. भट्टराईले गरेका छन्।
सपुतको ‘पिर’ गीतमा देखाइएको दृश्यले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै माओवादी केन्द्रका नेताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला कुनै बेला माओवादीकै शीर्ष नेता रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने गीतका पक्षमा जोडदार वकालत गरिरहेका हुन्।
‘तथ्यबाट सत्य खोज’ मार्क्सेली चिन्तन पद्धतिले भन्छ। अनुसन्धानका क्रममा मैले प्रत्यक्ष बुझेको छु– महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचार निम्ति देह बेच्न बाध्य छन्’, डा. भट्टराईले दोस्रोपटक गरेको ट्विटमार्फत भनेका छन्, ‘हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दै छन्। तीतो सत्य स्वीकारौं। समाधान खोजौं। प्रकाश सपुतलाई नसरापौं।’








































