काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी प्रवेश गर्नेहरूकाे लाइन लाग्ने गरेकाे बताएका छन् । आइतबार विराटनगर पुगेका प्रचण्डले भनेका छन्, ‘तपाईं हेर्नुहुन्छ भने खुमलटारमा दिनदिनै प्रवेश गर्नेहरूकाे लर्काे लाग्ने गरेकाे छ एमालेबाट कांग्रेसबाट साथीहरू आउने क्रम जारी छ ।’
यस्तै उनले तत्कालका लागि एमालेकाे केपी गुटसँग कुनै सहमति नहुने प्रष्ट्याएका छन् । ‘अहिलेकाे लागि एमालेकाे केपी गुटसँग कुनै सहमति हुँदैन । याेबीचमा कमरेड नारायणकाजीलगायतका नेताहरूसँग त केपीसँग कुराकानी पनि भयाे । तर, अहंकार बाँकी नै छ, फूर्ति बाँकी नै छ । त्यसैले तत्कालका लागि याे सम्भव छैन ।’
‘स्थानीयपछि संघीय निर्वाचन हुन पनि सक्छ’
प्रचण्डले स्थानीयपछि संघीय निर्वाचन हुनसक्ने संकेत गरेका छन् । यसअघि नै उक्त प्रस्ताव गठबन्धन पुर्याएका उनले भने, ‘यसमा मैले बाेल्न उचितचाहिँ देखेकाे छैन । तर यसमा २ वटा विकल्पहरू छन्; एउटा त यसैगरी विराेधकै बीच अगाडि बढ्ने पनि हुनसक्छ र अर्काेचाहिँ तपाईंहरूले भनेझैँ अर्ली ईलेक्सनमा जान पनि सकिने भन्ने छ । तर फेरि जान्छ नै भन्ने पनि भएन ।’
यसमा गठबन्धनमा छलफल भइरहेकाे जानकारी प्रचण्डले दिएका छन् । ‘यसमा गठबन्धनमा पनि छलफल भइरहेकाे छ,’ उनले भनेका छन्, ‘एकखाले सहमति पनि जुटिसकेकै छ । तर थप सहमति जुट्न पाएकाे छैन । यसमा हुनसक्छ मात्रै भन्न सकिन्छ अहिलेलाई ।’
- ADVERTISEMENT -