काठमाडौं । हास्य अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ लाई मिर्गौला प्रत्यारोपण गरिएको छ । उनका नजिकका भाइ अजु डंगोलले मिर्गौला दान गरेका हुन् ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार करिब चार घन्टाको शल्यक्रियापश्चात् मिर्गौला प्रत्यारोपन सफल भएको चिकित्सकले बताएका छन् ।
पाँच वर्षदेखि मिर्गौला समस्याले पीडित पल्पसाको गत वर्षबाट दुवै मिर्गौलाले काम गर्न छाडेको थियो । सुरुमा शिक्षण अस्पताल र त्यसपछि अन्य अस्पतालमा उपचार तथा डाइलोसिस हुँदै आएको थियो । गत पुसबाट टेलिचलचित्र छायांकनमा समेत उनी फर्किएकी थिइन् ।
मिर्गौला प्रत्यारोपणपछि पल्पसाको बुधबार बेलुका होस आएको र अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । अब केही दिन अस्पताल राखेर स्वास्थ्य अवस्था राम्रो भएपछि डिस्चार्ज गरिने भएको छ ।
- ADVERTISEMENT -
नेपाल चलचित्र कलाकार संघ अध्यक्ष रविन्द्र खड्काले मिर्गौला प्रत्यारोपण गर्न १२ लाख खर्च भएको बताए । संघको पहलमा उनलाई मिर्गौला प्रत्यरोपन गर्न आवश्यक खर्च उठाइने भएको छ ।
यता, पल्पसालाई केही रकम बोर्डका तर्फबाट पनि सहयोग गर्ने चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।