काठमाडौं, मंगलबार, २४ फागुन २०७८ । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने भएको छ ।
सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले गठबन्धनसहित निर्वाचन जाने विषयमा टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको हो ।
‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको छ’, नेता वर्षमान पुनले भन्नुभयो ‘सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने छ’ उहाँले भन्नुभयो ।
उहाँले हरेक पालिकामा लोकप्रिय र योग्य उम्मेदवारको सूची बनाएर पठाउने, त्यही सिफारिस अनुसार उम्मेदवार बनाउने बताउनु भयो । माओवादीले आगामी चुनावमा तालमेल गर्ने बताइरहँदा सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेसमा भने गठबन्धनसहित चुनावमा जाने विषयमा विमति देखिएको छ ।
- ADVERTISEMENT -