काठमाडाैँ, १९ फागुन २०७८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच पुन: छलफल भएकाे छ ।
उनीहरूबीच बिहीबार बिहान खुमलटारमा छलफल भएकाे प्रचण्ड सचिवालयका एक सदस्यले जानकारी दिए । उनीहरूबीच पार्टी एकतालाई कायम गर्ने र अघि बढ्नेबारे छलफल भएकाे भएपनि निष्कर्ष ननिस्केकाे सचिवालयले जनाएकाे छ ।
भेटमा प्रचण्डले पार्टी एकतालाई कायम राख्न नारायणकाजीलाई आग्रह गरेका थिए । जवाफमा नारायणकाजीले पुरानै भनाइ दाेहाेर्याएका थिए । यसअघि हात्तीवनमा भएकाे छलफलमा नारायणकाजीले ‘अध्यक्षले नै निस्केर जा भनेपछि बसिरहन गाह्राे हुन्छ’ भनेर भनेका थिए । आज बिहानकाे छलफलकाे क्रममा पनि उनले साेही भनाइ दाेहाेर्याएकाे सचिवालयले जनाएकाे छ ।
एमसीसीकाे पक्षमा उभिने निर्णय लिएपछि नारायणकाजी प्रचण्डसँग रिसिएका छन् । त्यसपछि पत्रकार सम्मेलनमै प्रचण्डले ‘नारायणकाजी पनि एमालेमा वामदेवकै बाटाे हिँड्न खाेज्नुहुन्छ भने मेराे भन्नु केही छैन’ भनेर प्रतिक्रिया दिएका थिए । यसपछि उनीहरूबीचकाे दूरी थप बढ्दाे छ ।
- ADVERTISEMENT -
नारायणकाजीलाई भने उनीनिकट नेताहरूले अलग पार्टीबाट अघि बढ्न दबाब दिन थालेका छन् । नारायणकाजी भने केन्द्रीय समितिमा साे कुरा उठाउने र अलग भएपनि हुने निष्कर्षमा पुगेका छन् ।