६ फागुन, काठमाण्डौं । बिहीबार बालाजुमा दुई पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।
धादिङ सिद्धलेख गाउँपालिका-४ का २९ वर्षीय चालक प्रदिप थपलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। एसपी मैनालीका अनुसार थपलियालाई शुक्रबार धादिङबेशीबाट पक्राउ गरेको हो।
उनी धादिङ – काठमाडौं रूट चल्ने बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको बस चलाउँछन्। प्रहरीले उनको बस पनि नियन्त्रणमा लिएको छ। एसपी मैनालीका अनुसार विभिन्न विधिको प्रयोग गरी उनलाई खोजेका थियौं आज पक्राउ गरी काठमाडौं ल्यायौं। बिहीबार बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको थियो।
मृत्यु हुनेमा रसुवा घर भई तार्केश्वर नगरपालिका-१० मनमैजुका १८ वर्षीय विकास तामाङ र काठमाडौं-१६ की अन्दाजी ५० वर्षीया दुर्गा थापा मगर छन्। उनीरूलाई बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि बाटो काट्नेक्रममा बसले ठक्कर दिएको थियो। एसपी मैनालीले घाइते भएका उनीहरूलाई पहिले बालाजु जनमैत्री अस्पताल लगिएको बताए।
- ADVERTISEMENT -
उनीहरूको थप उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ।