काठमाडौँ, मंगलबार, ३ फागुन २०७८ । सत्ताशीन नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो ।
आजको बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटना क्रमका विषयमा छलफल हुने बताउनु भएको छ ।
गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाअभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले विरोध जनाउँदै आएको छ । एमाले संसदीय दलको बैठक सोमबार बसेको थियो ।