काठमाडौँ, सोमबार, १७ माघ २०७८ । उत्पादन हुने सिजनमा नै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् ।
व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।
उन्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको मूल्य प्रतिकिलो एक सयबाट नघटेपछि उपभोक्ता अधिकारकर्मी र उपभोक्ताले यसलाई सामान्य रूपमा लिएका छैनन् । सरकारका उच्च कर्मचारी र उद्योगी व्यवसायीको मिलेमतोमा चिनीमा मनलाग्दी मूल्य लिने गरिएको हो ।
चालू आर्थिक वर्षमा सरकारले साल्ट ट्रेडिङ कर्पाेरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको उपभोक्ताकर्मीको भनाइ छ ।
साल्ट ट्रेडिङसँग चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् ।
सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।








































