काठमाडौँ, १५ माघ २०७८ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् ।
सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकमा पौडेलले उक्त कुरा राखेका हुन् ।
मुलुकमा राजनीतिक गतिरोध गहिरिँदै गएको अवस्थामा गठबन्धनमा रहेका दलहरूले समाधान खोज्नुपर्ने पौडेलले बताएका हुन् ।
उनले भने, ‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्त्वका विषयमा गतिरोध कायमै छ ।
राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसद्मा एउटा कानुन पास गराउन सक्ने अवस्थामा छैन । कानुन संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था छ । अहिलेको राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरू क्रियाशील भइरहेको देखिन्छ । यस्तो अवस्थामा यो गठबन्धन गम्भीर नहुने हो भने, निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठ्न सक्छ ।’
- ADVERTISEMENT -
सत्तारुढ गठबन्धको बैठकले शनिबार साँझ नै फेरि कानुन व्यवसायीसँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने भएको छ । कानुन व्यवसायीहरूसँग छलफल गरेर साँझ ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।