काठमाडौं, १४ माघ २०७८ । सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् ।
उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले केही आपत्तिजनक शब्द समावेश गरेका छन् । गीतमा उनले पैसाले देश ध्वस्त बनाएको बताउँदै पैसाले हरेक कुरा गर्ने बताएका छन् । उनले गीतमा केही सुन्न नसकिने शब्दहरु समेत समावेश गरेका छन् ।
‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेशले त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । उनी म्युजिक भिडियोदेखि स्टेज कार्यक्रममा निकै व्यस्त मानिन्छन् ।
तर आफूले सिर्जना गरेका र गाएका गीतका कारण उनी हरेकपटकजसो विवादमा पर्ने गरेका छन् । ‘बीच्च बीच्चमा’को थेगोमा दुर्गेशले दुई वर्षअघि चलचित्र ‘छ माया छपक्कै’को प्रमोसनल गीत गाएका थिए । जुन गीतको प्रयोग भएको एउटा लाइनका कारण उनी आलोचित बन्नुपरेको थियो ।
तिहार गीत ‘डन आयो डन’ले त उनलाई प्रहरी कार्यालयसम्म पुर्याएको थियो । गीतमा प्रयोग भएका शब्दहरुको निकै आलोचना भएको थियो ।
गीतका शब्दहरुलाई लिएर जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनलाई प्रहरीले बोलाएको थियो । पछि प्रहरी कार्यालयबाटै उनले गीत युट्युबाट हटाएका थिए । उनले विवादित शब्द ‘म्युट’ गरेर उक्त गीत फेरि अपलोड गरेका थिए ।
यसरी गीतका कारण बेलाबेला आलोचित बनिरहेका दुर्गेशले आफ्नो पछिल्लो गीत ‘पैसा’मा द्विअर्थी र आपत्तिजनक शब्दहरु समावेश गरेका हुन् । गीत सार्वजनिक भएसँगै कलाकारहरुले फेरि उनको आलोचना गरिरहेका छन् । यस्ता गीतले समग्र सांगीतिक क्षेत्रलाई नै असर गर्ने संगीतकर्मीहरु बताउँछन् ।








































