- ADVERTISEMENT -

थारु समुदायको नयाँ बर्ष

January 15, 2022
596
Shares
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, १ माघ २०७८ । नेपालका आदिवासी जनजातीय समुदाय मध्येका एक थारु समुदायले आज माघी पर्व मनाउँदैछन । यो पर्वको प्रकृतिसँग नजिकको सम्बन्ध छ । माघी पर्वलाई थारु समुदायको नयाँवर्ष पनि भनिन्छ ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति (माघे संक्रान्ति) पनि भनिएको हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ ।

- ADVERTISEMENT -

Advertisement

माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरु मिलेर सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ ।

थारु समुदायमा ‘माघीको दिन रातो अर्थात् (रगत) देखाउनु हुँदैन’ भन्ने मान्यता पाइन्छ । त्यसैले पुस मसान्तको दिनमै सुँगुर मार्ने र पकाउने काम गरिन्छ । १ गतेको दिन केवल खाने, पूजापाठ गर्ने जस्ता काम मात्र हुन्छन । यसले धार्मिक पक्षलाई जनाउँछ ।

पुस मसान्तमा विभिन्न प्रकारका परिकार (सुँगुरको मासु, ढिक्री, रोटी, माछा) हरु तयार गरिन्छ । रातभरी नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेष गरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुम्रु गाउने गरिन्छ ।

माघ १ गते अर्थात् माघीको दिन विहानै सम्पूर्ण गाउँका मानिसहरु सामुहिक रुपमा नदीमा नुहाउँछन । घरमा आई आ–आफ्नो दिदीबहिनीहरुलाई उपहार दिने गर्छन् जसलाई ‘निसराउ’ भनिन्छ ।

त्यसपछि सबै जना सबैसँग गाउँभरी ढोगसलाम गर्छन्, आशिर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । आजको दिन घरपरिवारमा भित्र कामको बाँडफाँड पनि गर्ने प्रचलन छ । त्यसैगरी आज गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य पनि हुन्छ ।

थारु समुदायले माघी पर्व महिना भरि नै धुमधामका साथ मनाउने प्रचलन भए पनि यस पटक कोरोना संक्रमण बढ्न थालेसंगै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाउन सरकारले आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -