काठमाडौँ, पुस २२ गते । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मूल्य निर्धारण गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।
यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ हो जसमा उखुको न्यूनतम लागत ३८२ रुपियाँ, ढुवानी खर्च ६२ रुपियाँ तथा मुनाफा ७६ रुपियाँ हिसाब गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि किसान तथा चिनी उद्योगीसँग पटकपटक छलफल गरेको थियो ।
सो छलफलमा उद्योगीले उखुको मूल्य प्रतिक्विन्टल ५८० रुपियाँ र किसानले ६५० रुपियाँ गर्नुपर्ने प्रस्ताव गरेका थिए । दुवैको प्रस्तावलाई अध्ययन गरी कृषि मन्त्रालयले मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाएको थियो ।
- ADVERTISEMENT -
उद्योग मन्त्रालयले मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेपछि त्यहाँ छलफल भई सो मूल्य निर्धारण भएको मन्त्री यादवले बताउनुभयो । सरकारले गत वर्ष मङ्सिर २८ गते उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा निर्धारण गरेको थियो । त्यसमा किसान सन्तुष्ट थिएनन् ।
यसपटक पनि सरकारले गरेको मूल्य निर्धारणमा किसानले असन्तुष्टि जनाएका छन् । उखु उत्पादक सङ्घका अध्यक्ष कपिलमुनि मैनालीले सरकार र उद्योगीको मिलोमतोमा यो मूल्य निर्धारण भएको गुनासो गर्दै यसमा किसान सन्तुष्ट नरहेको बताउनुभयो ।