काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल जाने भएका छन् । आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने महाधिवेशनलाई शुभकामना दिन महासचिव पोखरेल जाने भएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन नै गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा निम्तो दिएका थिए । तर, पहिले नै निर्धारित पार्टीको कार्यक्रमले झापामा रहेकाले ओलीले आफू आउन नसक्ने बताएका थिए । त्यसपछि माओवादी केन्द्रको महाधिवेशनमा एमालेबाट महासचिव पोखरेल अतिथिका रूपमा जाने भएका हुन् ।
एमालेको दशौं महाधिवेशनमा पनि अध्यक्ष प्रचण्ड पार्टीको कार्यक्रमले व्यस्त रहँदा माओवादी केन्द्रबाट लीलामणि पोखरेल गएका थिए । माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गरेको छ ।