सुर्खेत, ३ पौष २०७८ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भुपेन्द्र खत्रीले पछिल्लो तीन वर्षमा वडाअध्यक्षका रुपमा आफूले पाएको तलब भत्ता सरकारी विधालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गरेर अनुकरणीय कार्य गरेका छन् ।
आफ्नो वडाभित्र रहेका दुई वटा सामुदायिक विद्यालयका दुई दर्जन बढी विद्यार्थीहरुलाई उनले छात्रवृत्ति प्रदान गर्ने गरेका हुन । उनको वडामा रहेको हरिडिल भूमि माविमा पाँच लाख र जगन्नाथ देवी प्राविमा तीन लाखको अक्षयकोष स्थापना गरेर उनले सो कार्य गर्दै आइरहेका हुन ।
वर्षेनी सोही अक्षयकोषबाट १२५ जनालाई एक हजारका दरले छात्रवृत्ति र विद्यालय पोशाक वितरण गर्ने गरिएको हो ।
‘दुवै विधालयमा मैले तीन वर्षमा पाएको तलब भत्ताको हिसाब गरेर अक्षय कोष स्थापना गरेको छु । कोषबाटबाट वर्षेनी १२५ जना विद्यार्थीले छात्रवृत्ति पाइरहेका छन्,’ अध्यक्ष खत्री भन्छन्, ‘मैले आफ्नो वडामा रहेका गरिब, जेहेन्दार टुहुरा विद्यार्थीका लागि केहि गर्न सकिन्छ कि भनेर यो प्रयास गरेको हुँ ।’
- ADVERTISEMENT -
उनी अब बाँकी दुई वर्षमा जम्मा हुने तलब भत्ता वापतको रकमको हिसाब गरेर ती दुवै अक्षय कोषमा थप्ने बताउँछन् ।
उनले पछिल्लो समयमा पहुँच हुनेहरुले निजी विद्यालयमा अध्ययन गर्ने र पहुँच नहुने गरिब विद्यार्थीहरु मात्रै सरकारी विद्यालयमा अध्ययन गर्ने प्रवृत्ति भएका कारण कम्तिमा गरिब विद्यार्थीलाई प्रोत्साहन गर्ने प्रयास गरेको बताए ।